काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनसम्म गठबन्धन नरहने संकेत गर्नु भएको छ ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति–सम्पर्क समन्वय विशेष प्रदेश समिति–प्रवास समन्वय समितिको वैचारिक–राजनीतिक प्रशिक्षणलाई बुधबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा प्रचण्डले यस्तो संकेत गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले आगामी तीनै तहको निर्वाचन माओवादीका लागि जीवन मरणको लडाइँ भएको पनि बताउनु भएको छ । ‘आगामी निर्वाचनमा गठबन्धनबाट जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाइदिनुस्’, प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयो, ‘आगामी निर्वाचन हाम्रा लागि जीवन मरणको लडाइँ भएर आउँदैछ।’
उहाँले हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा उभिएर आफ्नै तागत र बलमा चुनाव जित्छौँ भन्ने आत्मविश्वास लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो । यसै सन्दर्भमा प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने अवस्था आइरहेको कुरा आफूले सबै भौगोलिकसहितका समितिलाई बताइएको पनि उल्लेख गर्नुभयो ।
‘हामी एउटा लडाइँमा जाँदैछौँ। यो लडाइँ कुनै पनि हालतमा जित्नै पर्छ, नजिती सुखै छैन। यदि जितिएन भने त्यसको परिणाम तपाईंहरुलाई थाहा नै छ’ उहाँले भन्नुभयो ।





प्रतिक्रिया