ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँः मेयर शाक्य
काठमाडौँ- बुधबार साँझ कमलपोखरी वरीपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी । लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण बुधबार साँझ त्यहाँको चहलपहल बढेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएकामा निकै खुशी देखिनुहुन्थ्यो । नभन्दै आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उहाँले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गर्नुभयो । बुधबार साँझ भिलिमिली उज्यालोका बिच कमलपोखरीको उद्घाटन गर्दै उहाँले अवरोधका बिच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा पुग्दा खुशी लागेको बताउनुभयो ।
‘ऐतिहासिक ठाउँलाई राम्रो देखाउनुपर्छ, संरक्षण गर्नुपर्छ, प्रवद्र्धन गर्नुपर्छ र पर्यटनसँग जोड्नुपर्छ भन्ने हाम्रो नीति नै हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने उदेश्य अनुसार लामो समयदेखि बेवारिस र फोहोर जमेको पाखेरीलाई पुनर्जीवन दिने काम सम्पन्न गर्दा आज खुशी लागेको छ ।’ उहाँले परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियान अन्तर्रगत कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गरेको पनि जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको भन्दै प्रमुख शाक्यले पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा कमलपोखरी रहने बताउनुभयो ।
उहाँले नेपाली काँग्रेसका महामन्त्री गगन थापासँग समेत पटक–पटक छलफल गरेर कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भए पनि बिचमा पुनर्निर्माणको काममा अवरोध भएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘हामीले यो क्षेत्रका जनप्रतिनिधिसँगै माननीय गगनकुमार थापासँग पनि धेरै पटक छलफल गरेर समवन्य गर्दै काम अघि बढाएका थियौँ,’ शाक्यले भन्नुभयो, ‘बिचमा उहाँहरु दिग्भ्रमित हुुनुभयो । केही युवाले यो कमलपोखरी होइन कंक्रिटको पोखरी हो भन्दै भ्रममा पनि पार्ने काम गरे ।’ पछि महानगरपालिकाले सम्झाएपछि काम अघि बढेको उहाँले बताउनुभयो ।
‘कहिलेकाँही भ्रम फैलाउँदा पनि गलत सन्देश जान सक्छ,’ उहाँले भन्नुभयो, ‘हामीले मौलिकता नमर्ने गरी अलिकती आधुनिकता पनि झल्किने गरी पोखरी पुननिर्माण गरेका छौँ । अहिले यो पोखरी कस्तो बनेको छ । तपाईँहरु आफैँ हेर्नुहोस् र सुझाव दिनुहोस् । यो सबैको साझा पार्क हो ।’ उहाँले पोखरी घुम्न आउँनेहरुका लागि मनोरञ्जन दिने उदेश्यले मण्डप, चैत्य र फाउण्टेनसमेत निर्माण गरेको जानकारी दिनुभयो ।
केही हप्ता अघि सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको मेयर शाक्यले नै विधिवतरुपमा प्रतिस्थापन गर्नुभएको थियो । उहाँले पहिलो चरणको काम सम्पन्न गरी कमलपोखरीको उद्घाटन भएको र अब दास्रो चरणको काम सँगसँगै सुरुवात गर्ने जानकारी दिनुभयो । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उहाँको भनाई छ ।
उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढाउँदै उद्घाटनसम्म आइपुगेको पनि बताउनुभयो ।
नेकपा एमालेका युवा नेता डाक्टर राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दर कमलपोखरी बनेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यसले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन समेत मद्त पुग्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीको उद्घाटन चरणमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको बताउनुभयो । ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ ।’
काठमाडौँ महानगरपालिकाका अनुसार कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहेका छन् ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भएको पनि महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहेका छन् । धाराको पनि प्रमुख शाक्यले बुधवार साँझ उद्घाटन गर्नुभयो ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुनर्निर्माण गरिरहेको जानकारी दिनुभयो । ‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजीवित गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरुप प्राप्त गरेको छ ।’ उहाँले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो । उहाँले छठमैत्री पोखरीका रुपका समेत विकास गरेको जानकारी दिनुभयो । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले प्रमुख शाक्यसँग पोखरी पुननिर्माणका लागि ६०–७० लाख माग गरेको तर उहाँले आफुले सोचे भन्दा धेरै गुणा बढी रकम दिएपछि पोखरीले यो स्वरुप प्राप्त गरेको बताउनु ।
प्रतिक्रिया