अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा  राष्ट्रिय परिचयपत्रको काम  अब वडाबाटै

बैतडीमा  राष्ट्रिय परिचयपत्रको काम  अब वडाबाटै


बैतडी – बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब  वडा तहबाटै  गर्न लागिएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दश स्थानीय तह रहेका जिल्लाका  चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा–वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने उहाँको भनाइ थियो ।

सूचना अधिकारी भारतीले भन्नुभयो,“एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ ।”

विवरण सङ्लनका लागि कर्मचारी वडा  कार्यालयमै  खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन् ।  विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ  । पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ । 

सोह्र बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सङ्कलन हुनेछ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गर्नुभएको छ । विस २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन् ।