काठमाडौं– चुनावमा एक्लैजान तर्सिरहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसको साथ गुम्ने भयले कति पोलेको छ भन्ने कुरा केही दिनका अभिव्यक्तिबाट झल्किन्छ । जति चुनावको मिति नजिक आउँदैछ, प्रचण्ड उत्तिनै त्रसित त्रसित मुद्रामा प्रस्तुत भइरहेको देखिन्छ ।
कांग्रेसमा शेखर कोइराला समूहले माओवादीसँग चुनावी गठबन्धन हुन सक्दैन भनेर सार्वनिक भाषण गर्न नछोडेपछि प्रचण्ड आलसतालस हुनुभएको हो । हिजो बुटवलमा ‘कांग्रेसले गठबन्धन नगरे एमालेसँग गरिन्छ’ भन्ने प्रचण्डको अभिव्यक्ति चरम राजनीतिक निराशाको एउटा अंश हो । प्रचण्डको मानसिकता के रहेछ भन्ने कुराको झल्को यसै अभिव्यक्तिबाट पाइन्छ । कांग्रेससँग सत्ता गठबन्धन गरिरहेकै बेला २०७४ सालमा एमालेसँग गठबन्धन गरेर आफ्नो राजनीति जोगाएका प्रचण्ड अहिले तिनै दिन झलझली सम्झँदैछन् । अनि आफ्नो आकार भन्दा ठूलो भाग लिएर एमालेसँग गरेको पार्टी एकता आफ्नै कारणले भत्किएको विक्रान्त दृष्यचाँहि उनले भूल्ने गरेका छन् । तर प्रचण्डका अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कि केही दिन भित्रै उनले तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली विरुद्धको १९ पन्ने आरोप गलत थियो भने स्वंय प्रचण्डले भन्नेछन् । त्यसलगत्तै उनले एमालेसँग स्थानीय तहको निर्वाचनमा गठबन्धनको प्रस्ताव औपचारिक रुपमा अघि बढाउनेछन् ।
नेपाली राजनीतिमा हत्या हिंसा र लुटपाटबाट उदाएका प्रचण्डलाई राजनीतिक बैठान गर्न कति ऐठन परिरहेको छ भन्ने कुरा २०७० सालको संविधानसभाको निर्वाचन पछिका उनका गतिविधिले स्पष्ट पार्दछ । एमालेसँग गरेको सत्ता सहकार्य कुबेलामै भत्काएर कांग्रेससँग टाँसिए । काँग्रेसको बुइ चढेर नौ महिना प्रधानमन्त्री भए । त्यसपछि काँग्रेस सभापति देउवालाई बुइ बोकेर प्रधानमन्त्रीको कुर्सीमा राखे । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काँग्रससँग गठबन्धन गरे । चितवन छोरी रेणु दाहाललाई जिताउन मतपत्र च्यात्ने देखि चपाउने हर्कत गर्न लगाए ।
स्थानीय तहको निर्वाचन सकिन के पाएको थिएन केपी ओलीसँग राजनीतिक सुरक्षाका लागि गठबन्धनको हात मागे । देउवासँगको सत्ता सहकार्य भइरहँदा एमालेको साथ खोज्नु प्रचण्डको ठूलो राजनीतिक बेइमानी थियो । ‘त्यसबेला गुप्त ढंगले एमालेसँग गठबन्धन गरेर देउवालाई धोका दिए । यसपाली खुलेरै एमालेसँग गठबन्धन गर्ने चर्चा गरेर देउवालाई दबाब दिन खोजेका हुन्,’ एक विष्लेषक भन्छन्, ‘प्रचण्डको हिजोको अभिव्यक्तिले उनी चरम राजनीतिक निराशाको शिकार भइसकेको पुष्टि गर्दछ । ’
विगत देखि नै उठ्ने गरेको प्रश्न फेरि प्रचण्डतिर उठेको छ । के प्रचण्ड एक्लै चुनावमा जान सक्दैनन् । यसको सजह उत्तर छ सक्दैनन् । किन सक्दैनन् ? किनकि प्रचण्डले जनतलाई देखाउने त्रासको धार अब भुत्ते भइसको । माओवादीले जनतालाई दिने आश्वासन सकिए तर चुनावहरु सकिएका छैनन् । कहिले जातीय राज्य बाँडेर प्रचण्डले भोट बटुले कहिले युद्धमा मारिएका र बेपत्ता पारिएकाको नाममा भोट बटुले । कहिले जनतालाई रातारात धनी बनाउने सपना बाँडेर भोट बटुले त कहिले वर्गीय मुक्तिका कथा हालेर भोट बटुले । त्यसै प्रचण्डका आश्वासन सकिए तर चुनावहरु सकिएका छैनन् । बरु उल्टै हिजोका आश्वासनले उनलाई पिरोल्दैछ । त्यसैले तीनै आश्वासन र युद्धका नाममा खेलिएको रगतको होलीबाट तर्किन प्रचण्ड चुनावमा गठबन्धनको राप अलाप्दै हिड्दैछन् ।
त्यसैले प्रचण्ड अञ्जु पन्तको गीतजस्तै ‘माया एउटासँग, बिहे एउटासँग’ जस्तो गरी एमालेसँग अहिले गठबन्धनको चर्चा गर्देछन् । प्रचण्डले मात्र होइन उनका विश्वासपात्र वर्षमान पुनले पनि हिजै एमालेसँगको गठबन्धनको सम्भावनालाई उजागर गरेका छन् । एमालेले भनेको छ चुनावमा गठबन्धन त जो कोहीसँग हुनसक्छ तर जारी रहेको गठबन्धन पहिला तोड्नु पर्दछ । प्रचण्डको अहिलेको घिडघिडो गठबन्धन काँग्रेससँगै गर्ने हो तर उसलाई थप दबाबमा राख्नका लागि एमालेसँग पनि गठबन्धन गर्न सक्छु भनेर थर्काउनका लागि मात्र हो ।
प्रचण्डले अरु कसैको वैशाखी नटेकी चुनावमा जाने तागत गुमाइसकेका छन् । त्यसैले जसले जति भाग दिन्छन् त्यती नै लिएर गठबन्धनमा सामेल हुनु उनको बाध्यता भइसकेको छ ।
प्रतिक्रिया