काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको लागि निर्वाचनमा विरोधी गठबन्धन केही पनि नभएको बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई गठबन्धनले रोक्न नसक्ने दावी गर्नुभयो ।
आज काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताले पराजित गरिदिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्ध गठबन्धन बनाइएको छ, मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छोडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन, मैले केही वर्षअघि भनेको थिएँ– स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सकिँदैन ।’

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अब १३ सिटमा झार्नुपर्छ ।’ कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि अध्यक्ष ओलीको भनाइ छ । उहाँले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको चुनावको असाधारण महत्त्व रहेको भन्दै उहाँले यो चुनाव एमालेले जित्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गरर्नुहुँदै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्नुभयो । ‘शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उहाँलाई ४ हजार भत्ता के गर्न छँदै छ, त्यसकारण छन् । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,’ ओलीले भन्नुभयो, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो । तपाईं पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले देख्ने गरी ।’







प्रतिक्रिया