काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिनुभएको छ ।
एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो चुनौती दिनुभएको हो ।
महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौति दिनुभयो । एमाले चुनावमा एक्लै सामना गर्नको लागि तयार भएको भन्दै देशभर एमालेको पक्षमा उर्लिएको जनलहर आएको बताउनु भयो । उहाँले एमालेलाई रोक्नका लागि अघि बढेका पुष्पकमल दाहाल र माधव नेपालको अवरोध चिर्दै एमालेलाई सानदार बिजयी बनाउने शक्ति तयार भइसकेको घोषणा पनि गर्नुभयो ।

‘सत्ता गठबन्धनका केही नेताहरु चुनावसम्मै मिलेर जान्छौं, एमालेलाई देखाइदिन्छौं भनिरहेका छन् । हामी प्रष्ट रुपमा भन्न चाहन्छौं मिलेर आए हुन्छ । पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ । यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले चुनावपछि परमादेशको शक्ति ढल्ने ठोकुवा पनि गर्नुभयो । ‘वैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुने छ । सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ,’ पोखरेलले भन्नुभयो, ‘एमालेलाई रोक्न खोज्ने सवै शक्ति जनताको मतबाट परास्त हुनेछन, हामी बिजयको झण्डा फहराएर जनताको सेवामा दृढ हुने छौं ।’







प्रतिक्रिया