अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दरवार हत्याकाण्डमा एमालेलाई विटुल्याउने माधव नेपालको रहर पूरा हुन दिएनौं : अध्यक्ष ओली

दरवार हत्याकाण्डमा एमालेलाई विटुल्याउने माधव नेपालको रहर पूरा हुन दिएनौं : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले २० वर्षअघि भएको राजदवार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको स्मरण गर्नुभएको छ ।

मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले दरवार हत्याण्ड र मदन–आश्रित हत्याकाण्डका रहस्यहरु रहस्यकै गर्भमा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले राजदवार हत्याण्डको छानबिनका नाममा गरिने नाटकमा एमालेलाई पनि साक्षी राख्ने प्रयास गरिए पनि आफूहरुले रोकेर माधव नेपालको रहर पूरा हुन नदिएको बताउनुभयो ।

ओलीले भन्नुभयो– राजदवार हत्याकाण्डमा दिपेन्द्रले बाबुआमा र भाइबहिनी मारेको प्लट बनाइयो । दुनियाँ त्यसको पछि कुद्यो र अन्तर्राष्ट्रिय समुदाय पनि कतिपले बुझे पनि केही भनेनन,त्यही स्थापित भयो । छानबिन समितिको नाटक गरेर त्यसमा माधव नेपाल पनि बस्न रहर गर्नुभएको थियो, बस्नु पनि भएको थियो तर हामीले हटाइदियौं । कमसेसकम त्यो ड्रामामा एमाले संलग्न हुनुहुन्न भन्यौं ।

राजदरवार हत्याण्डमा प्रधान न्यायाधीशको अध्यक्षतामा गठित छानबिन समितिमा तत्कालीन विपक्षी दलका नेता माधवकुमार नेपाल पनि बसेका थिए । पछि एमालेले उनलाई फिर्ता बोलाएको थियो ।

मदन आश्रितको दुर्घटनामा निधनपछि पार्टीले मदन आश्रित स्मृति प्रतिष्ठान बनाए पनि त्यो केही व्यक्तिको मागी खाने भाँडो भएपछि मदन भण्डारी फाउन्डेसन खोलिएको ओलीले बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीको अध्यक्षतामा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरका प्रतिनिधि सहभागी हुनुहुन्छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा  भइरहेको सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आइरहेको छ ।