काठमाडौ -पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गर्नुभएको छ । यो कुरा गर्दा आफूले पेन्सन छोड्नु परे पनि छोड्ने उहाँको भनाइ छ ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रममा पराजुलीले सो कुरा बताउनुभएको हो ।
गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको संयोजकत्वमा सुरु गरिएको अभियान अन्तर्गत शनिबार राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश पराजुली सहभागी हुनुहुन्थ्यो । उहाँले धर्मनिरपेक्षताको चर्को विरोध मात्रै गर्नुभएन राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञासमेत दिनुभयो ।
धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको भन्दै उनले त्यो नचाहिने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो ‘हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।’
यो कुरा गर्दा सरकारबाट पाइरहेको पेन्सन पनि छोड्न परे पनि आफू तयार रहेको पराजुलीको भनाइ छ । हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै उहाँले भन्नुभयो , ‘पेन्सन छोड्दिन तयार छु तर म हिन्दू धर्म र संस्कार छोड्न सक्दिनँ ।’
प्रतिक्रिया