अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथ खनालको निर्वाचन क्षेत्रमा आज एमाले अध्यक्ष ओलीको सम्बोधन

झलनाथ खनालको निर्वाचन क्षेत्रमा आज एमाले अध्यक्ष ओलीको सम्बोधन


इलाम- नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै हुनुहुन्छ । एमालेकाे बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लाग्नुभएको हो । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्ने तयारी छ ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी हुनुभएको थियो । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।