अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘..अनि मैले २५ वर्षपछि माओवादी छाडेँ’

‘..अनि मैले २५ वर्षपछि माओवादी छाडेँ’

पद नपाएर माओवादी छोडेको होइन र पद पाउनका लागि एमाले प्रवेश गर्न लागेको पनि होइन


काठमाडौं– करिब २५ वर्ष देखि माओवादी पार्टीमा सक्रिय रहेका कर्णाली प्रदेशसभाका प्रमुख सचेतक ठक्मर विष्ट आज एमालेमा प्रवेश गर्दैहुनुहुन्छ । माओवादीको सशस्त्र युद्धका क्रममा दजर्नौं आक्रमणमा सहभागी विष्ट भेरी कर्णाली क्षेत्रीय व्यूरो सदस्य, लडाकुहरुको ब्रिगेड कमिसार, बिग्रेड भाइस कमाण्डरको जिम्मेवारी निर्वाह गरेका नेता हुनुहुन्छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी रहनुभएका ५० वर्षीय विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । माओवादीको कर्णाली प्रदेशभाको प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका विष्टले तीनदिन अघि प्रदेश सांसद, प्रमुख सचेतक र माओवादी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएर आज एमाले प्रवेशको साइत जुराउनुभएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज वीरेन्द्रनगरमा हुने कार्यक्रममा विष्टलाई एमाले प्रवेश गराउँदै हुनुहुन्छ ।

एमाले प्रवेश गर्नुभन्दा केही घण्टापूर्व विष्टसँग यो बेला डट कमले सोधेको थियो, ‘माओवादीमा पद प्रतिष्ठा पाउनु भएकै थियो तर किन पार्टी छोड्नु भएको हो ?’

विष्टको जवाफ यस्तो छ- ‘मैले पद नपाएर माओवादी छोडेको होइन र पद पाउनका लागि एमाले प्रवेश गर्न लागेको पनि होइन । खासमा माओवादीमा जुन सपना देखेर लागियो । ती सपना कहिले विपनामा परिणत हुने स्थिति देखिएन । माओवादी पार्टी न सर्वहारा वर्गको भयो । न जनतासँग जोडिएको पार्टी भयो । यो त नव प्रवेशी, नव धनाढ्यहरुको चंगुलमा परिसक्यो । नेतृत्व आफ्नो वास्तविक वर्गसँग धेरै टाढा छ । यो कुरा मैले पार्टीमा पटक पटक उठाएँ । प्रचण्डसँग पनि धेरै पटक भने । तर उहाँले मेरो कुरालाई सुन्दै सुन्नुभएन । जहाँ सत्य कुराको सुनुवाइ हुँदैन त्यहाँ बसेर समय किन वर्वाद गर्नु भनेर एमालेमा प्रवेश गर्ने निर्णय लिएको हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको देश निर्माण स्पष्ट भिजन, आफ्नो एजेण्डामा सबैलाई सहमत गराउने क्षमता, जनताका काममा सधैं प्रतिबद्ध र पार्टीले अघि सारेको नीति, विचार र सिद्धान्त भन्दा दायाँबायाँ नगर्ने खुबी जुन छ, त्यो एमालेप्रतिको मेरो आकर्षणको प्रमुख कारण पनि हो ।

प्रचण्डसँग तपाईंका के–के कुरा भएका थिए ?

जनतासँग जोडिने काम गरौं भने । उहाँले हुन्छ भन्नुभयो । गर्नुभएन । एक पटक होइन धेरै पटक माओवादी पार्टी नसच्चिए अब हुने परिणामको बारेमा जानकारी गराएँ । उहाँले वेवास्ता गर्नुभयो । पार्टीलाई सिद्धान्तले होइन, परिवारवाद र अवसरवादले निर्देशित गर्न थाल्यो । युद्धकालमा गरिएका बाचा भन्नुहोस् वा शान्ति प्रक्रियामा आइसेपछि गरेका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ माओवादीको ध्यान कहिले गएन । अघि भने नि नेतृत्वलाई घेर्न अर्कै वर्ग आइपुग्यो । त्यसमा प्रचण्ड रमाउन थाले । जसले गर्दा माओवादी जग विहीन अवस्थामा पुग्यो । मैले सम्झें, जहाँ जनताका काम गर्ने वातावरण नै छैन भने किन त्यो पार्टीम बसेर आफ्नो ऊर्जाशील समय खेर फालौं ?

यति नै कारण ले मात्र माओवादी छोड्नु भएको हो त ?

होइन सैद्धान्तिक रुपमा चारवटा कारणले माओवादी छोडेको हुँ । एक,माओवादी बिचार र सिद्धान्तमा स्खलित भइसक्यो । यो सँग कुनै राजनीतिक मूल्यमान्यता बाँकी छैन अब । दुई,साम्राज्यवाद र विस्तारवादका विरुद्ध लड्नु पर्छ भनेर सिकियो । सिकाइयो । जनताका आधारभुत आवश्यकता गास,बास र कपासको सवाल उठाइयो । शिक्षा, स्वास्थ्य र रोजगारी जनताको पहुँचमा पु¥याएर समाजवादी यात्रा तय गर्ने भनियो । अहिले त माओवादीको समाजवादी यात्रालाई परिवारवादको बाढीले बगाइदियो । तीन, माओवादीको अति सत्तालिप्साले मलाई यस पार्टीप्रति नफरत जगायो । जोसँग पनि गठबन्धन गरेको छ । सरकारमा बसेको छ । स्रोत र साधनको दुरुपयोग गरेको छ । जनताका आवश्यकता एकातिर छन् पार्टी अर्कातिर कुदेको छ । सिद्धान्त एकातिर छ राजनीति अर्कातिर कुदाएको छ । जनताले एकथोक चाहेका छन् नेताले अर्कोथोक गरेका छन् । त्यसकारण यस्तो सत्ता र सुविधाभोगी पार्टीबाट गरेको राजनीति फलदायी हुदैन भन्ने मेरो ठहर हो । चौथो एमसीसी जस्तो राष्ट्रघाती परियोजना प्रचण्डले सत्ता र स्वार्थका लागि सहजै स्विकारिदिए । यो तहको बेइमानीले उनलाई नेता मानेर मलाई माओवादीमा बस्न असहज भयो । त्यसै मैले माओवादी छोडें ।

एमाले प्रवेश गर्दा तपाईंलाई कुनै जिम्मेवारीको अफर छ ?

छैन । नेतृत्वले मेरो योग्यता, क्षमता बुझ्ला भन्ने मलाई लागेको छ । नेकपा कालका करिब ३ वर्ष हामी एउटै पार्टी भएर पनि बसेका छौं । त्यसैले मेरो काम गर्ने शैली,जनताको विश्वास र मेरो क्षमता एमालेका नेता कमरेडहरुलाई थाहा भइसकेको छ । २०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा पनि १२स य मतले कांग्रेस अगाडि थियो । तर मैले करिब २ सय मतले जितेर कांग्रेसको किल्ला भत्काएँ । त्यसैले एमालेले जनताको म प्रतिको रुझानलाई बुझ्छ भन्ने मलाई लागेको छ । अघि नै भने म पद र प्रतिष्ठा नपाएर एमाले प्रवेश गरेको होइन । यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको देश निर्माण स्पष्ट भिजन, आफ्नो एजेण्डामा सबैलाई सहमत गराउने क्षमता, जनताका काममा सधैं प्रतिबद्ध र पार्टीले अघि सारेको नीति, विचार र सिद्धान्त भन्दा दायाँबायाँ नगर्ने खुबी जुन छ, त्यो एमालेप्रतिको मेरो आकर्षणको प्रमुख कारण पनि हो ।