इलाम – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाउनु भएको छ । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताउनु भयो ।
मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताउनु भयो ।
नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘पुरै मतपत्र हरियो बनाउने रे ? निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होइन निष्पक्ष भएर काम गर्ने हो । अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयको उहाँले विरोध जनाउनु भयो
उहाँले भन्नुभयो, ‘मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ रु जहाँ पनि मनोनयन एकै दिन हुन्छ । विश्वभरी मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन ।’
पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उहाँले प्रश्न समेत गर्नु भएको थियो ।





प्रतिक्रिया