सुर्खेत– नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका पूर्व सचेतक ठम्मरबहादुर विष्ट आज औपचारिक रुपमा एमालेमा प्रवेश गर्नु भएको छ ।
प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिनु भएको थियो ।
नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँलाई सुर्खेतमा आयोजित एक कार्यक्रममा टीका लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो ।
राजीनामा दिएका विष्टलाई माओवादीले राजीनामा फिर्ता गरेर आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उहाँलाई निलम्बन गरेको थियो ।
नेकपा एमाले प्रवेशपछि कार्यक्रममा बोल्दै विष्टले माओवादीमा हुर्किएको नातावाद, आत्मसम्मानमा ह्रास र विशालु राजनीतिले गर्दा एमालेमा प्रवेश गरेको बताउनु भयो । आफू प्रमुख सचेतक हुँदा उक्त पदको ख्याल नगरेर केन्द्रीयता लागू गरेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले मन्त्री बनाउने कुरादेखि एमसीसी पास गर्ने कामसम्ममा कार्यकर्ताको भावनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ख्याल नगरेको पनि बताउनु भयो ।
विष्टले भन्नुभयो, ‘म प्रमुख सचेतक थिएँ। मुख्यमन्त्रीकोमा सुटुक्ट लिस्ट पुग्यो। म हुनुपर्छ भनेको होइन, सक्षम विद्वान मान्छेहरु थिए। कुनै पनि धरातल नभएका ल्याउने ? एमसीसी श्रङ्खलामा पनि सुरुदेखि नै हामीले गलत भन्दै आयौं। नेतृत्वलाई सुनायौं। हाम्रो भावनाको कदर भएन। बरु उल्टै खोलो तर्यो, लौरो बिर्स्यो भनेजस्तै भयो। केन्द्रीयता लागू गर्ने काम भयो र मानमर्दन गर्ने कार्य भयो।’
अहिलेको राजनीतिमा तुलनात्मक देशमा राम्रो पार्टी एमाले भएको उहाँले दाबी गर्नुभयो । किनकी नाकाबन्दीमा डटेको, चुच्चे नक्सा पास गराएको कारण एमालेमा आइपुगेको उहाँको भनाइ थियो। प्रचण्डले नै आफूहरुलाई एमाले बन्न सिकाएको बताउँदै उहाँले भन्नुभयो, ‘हिजो उहाँले नै केपी ओली र म समाजवादको जेटमा उडिसक्यौं भन्नुभएको हो। उहाँले नै एमाले बनाउनुभएको हो। एमाले हुने खाश तरिका चाहिँ यो हो।’





प्रतिक्रिया