अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा स्थानीय निर्वाचनका उम्मेदवार सिफारिश गर्दा एक महिला अनिवार्य

एमालेमा स्थानीय निर्वाचनका उम्मेदवार सिफारिश गर्दा एक महिला अनिवार्य


काठमाडौं – नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका निम्ति उम्मेदवार सिफारिश गर्दा कम्तीमा एकजना महिला अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।

काठमाडौंमा आज बसेको एमाले पोलिटब्यूरो बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड पारित गरेको छ। जसमा उम्मेदवारका लागि तीनजनाको नाम सिफारिश गर्दा एकजना महिला अनिवार्य गरिएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।

उम्मेदवार छनोट मापदण्डमा स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिका मेयरसम्मका लागि तीनजना उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने व्यवस्था गरेको छ। तीन जनामध्ये कम्तीमा एक जना महिला हुनुपर्ने पोलिटब्यूरो बैठकले निर्णय गरेको हो।

वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिश वडा कमिटीले गर्ने भएको छ। त्यसका आधारमा जिल्ला कमिटीले टिकट दिने निर्णय गर्नेछ। यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिश जिल्ला कमिटीले गर्ने मापदण्ड तय गरिएको छ। त्यसका आधारमा प्रदेश कमिटीले टिकट दिनेछ।

यस्तै, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिश गर्ने मापदण्ड बनाइएको छ। दुवै कमिटीले गरेको सिफारिशका आधारमा एमाले केन्द्रीय कमिटीले टिकट दिने निर्णय गर्ने गुरुङले बताउनु भयो ।