काठमाडौं- चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो। डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो।
‘तीन महिनासम्म चेक नियन्त्रणमा राख्नु र कुनै कारबाही नगरी चेक फिर्ता गर्नु प्रहरी आचरण विपरितको काम हो। एसएसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ’, समितिका एक सदस्यले बताए ।
सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए।
गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो। मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ।
बैंक अफ काठमाडौं कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिनुभएको थियो ।
उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो। भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको बताउनुभएको थियो ।
एसएसपी सिंहले चेकमा भएबराबरको रकम तिर्न समेत दबाब दिएको आरोप लगाएका छन्। तर सरुवा भएपछि पीडितलाई जानकारी नै नदिई सिंहले चेक भेटवाललाई नै दिएपछि बरालले गृह मन्त्रालयमा उजुरी दिएका थिए।
एसएसपी सिंहले भने त्यतिबेला केही बिचौलियाहरुले उद्देश्य पूरा गर्न नसकेर आफ्नो बदनाम गराउन लागेको प्रतिक्रिया दिनुभएको छ ।





प्रतिक्रिया