अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराई-मधेसमा एमालेप्रतिको आकर्षणले शक्ति सन्तुलन बदल्छ : अध्यक्ष ओली

तराई-मधेसमा एमालेप्रतिको आकर्षणले शक्ति सन्तुलन बदल्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा एमालेप्रतिको आकर्षणले राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने बताउनु भएको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उहाँले तराई–मधेसमा देखिएको पार्टी प्रवेशको प्रवत्ति उल्लेखनीय भएको बताउनु भएको हो ।

‘विगत निर्वाचन भन्दा अगाडिदेखि नै एमालेका विरूद्ध भ्रम प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसैकारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई-मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ,’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यसले राष्ट्रिय राजनीतिबाट जातीय-क्षेत्रीय सङ्कीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्नेछ।’

सत्ता-स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा एमालेमा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ– ‘आधारभूत तहबाटै पार्टी एकता अगाडि बढाउने हाम्रो अभियानले सार्थकता पाएको छ र एमाले नै मुलुकको नेतृत्वदायी पार्टी साथै देशकै प्रमुख राष्ट्रिय शक्ति हो भन्ने तथ्यलाई यस घटनाक्रमले स्पष्ट पारेको छ ।’