काठमाडौं -सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेबाट बैठक सुरु हुने राष्ट्रियसभाका सदस्यसमेत रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकोे छ ।
कांग्रेसले चौथो केन्द्रीय कार्यसमिति बैठकका लागि तीन वटा एजेन्डा तय गरेको छ। मुख्य सचिव पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारीसँगै निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ।
यस्तै बैठकले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन पनि गर्ने एजेन्डा तय गरिएको छ।
एक पदाधिकारीले केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहसम्मै चुनावी तालमेलको निर्णय गर्ने जानकारी दिएका छन्।
उनका अनुसार बैठकले गठबन्धनमा नरहेका दलसँग तालमेल गर्न नपाउने सर्तसहित चुनावी तालमेलको निर्णय गर्ने सम्भावना छ।
सर्तसहित चुनावी तालमेलका लागि निर्णय नगरिए गठबन्धनमा रहेका दलहरु एमालेसँग पनि मिल्न सक्नेमा कांग्रेस सशंकित देखिन्छ। किन सर्त राखियो भन्ने प्रश्नमा ती नेताले भने, ‘निःसर्त छोडिदियो भने त एमालेसँग गठबन्धन गरिदिन्छन्।’
कांग्रेसका अर्का एक पदाधिकारीले पनि आगामी केन्द्रीय कार्यसमिति बैठकबाट सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा चुनावी तालमेलका विषयमा निर्णय गरिने जानकारी दिए।
संस्थापनइतर समूहले बुधबार मात्रै चुनावी तालमेल र चार तहमा गठन हुनुपर्ने संसदीय समितिका बारेमा समूहको धारणा राख्ने निर्णय गरेको छ।
सभापति देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने नाममा पार्टीभित्रको एउटा समूहलाई किनारा लगाउने काम गरेको इतर समूहको बुझाइ छ।







प्रतिक्रिया