अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस बैठकसँगै सानेपामा नेवि संघ र तरुण दलको आन्दोलन

काँग्रेस बैठकसँगै सानेपामा नेवि संघ र तरुण दलको आन्दोलन


काठमाडौं -नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठक स्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नु भएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भन्नुभयो , ‘बैठक सुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपुर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं ।’

उहाँका अनुसार कोइराला समूहको बालुवाटारमा बिहीबार साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रर्दशन गर्न लागिएको हो । बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । ‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो । सो बैठकले सभापतिको सो एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं,’ मगरले भन्नुभयो । मगरका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशवसिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो ।