काठमाडौ -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न निर्वाचनमा गरिने चुनावी तालमेलको निर्णय केन्द्रले लाद्न नहुने निष्कर्ष निकालेको छ।
पौडेल निवास बोहराटारमा शुक्रबार बिहान बसेको उक्त समूहको बैठकले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको निर्णय सम्बन्धित कार्यसमितिले नै गर्न पाउनुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी एक नेताले चुनावी तालमेललाई सैद्धान्तिक रुपमा ठीक रहेको भन्दै स्वीकार गर्ने र तालमेलको निर्क्योल गरेर निर्णय गर्ने अधिकार केन्द्रले लाद्न नहुने निष्कर्ष निकालेको जानकारी दिए।
भेलाले पार्टीको विधानअनुसार आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई टिकट वितरण गर्नुपर्ने निष्कर्ष निकालेको वरिष्ठ नेता पौडेलको सचिवालय स्रोतले जानकारी दिएको छ।
‘पार्टीको विधानमै चार तहको संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था छ,’ सचिवालय स्रोतले भने, ‘संसदीय समिति गठन गरेर तिनै समितिले विधानले दिएको अधिकारअनुसार टिकट वितरण गर्नुपर्ने भन्ने हो।’
भेलामा नेता पौडेलले आगामी निर्वाचनहरूमा चुनावी तालमेल आवश्यक रहेको बताउनुभएको छ। ‘प्रधानमन्त्री बन्न र सरकार चलाउन मात्रै गठबन्धन बनेको होइन,’ पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यो मिसनका लागि बनेको हो। गठबन्धन आवश्यक छ।’







प्रतिक्रिया