अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो


पाल्पा – तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ । ढुङ्गाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू्–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो ।

अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा पनि भत्काउन २४ घण्टे ‘अल्टिमेटम’ दिइएको छ । सार्वजनिक जग्गा मिचेर विभिन्न टहरा बनाइ अतिक्रमण गर्न थालेको जानकारी पाउनासाथ स्थानीय वन उपभोक्ता र प्रहरी कार्यालयसमेतको सहभागितामा उनीहरुलाई हटाइएको उक्त कार्यालयका निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतले बताउनुभयो ।

विभिन्न बाहना बनाएर रातारात घरटहरा बनाएर सार्वजनिक जग्गा हडप्न थालिएकाले त्यसलाई रोक्न यहाँ बनाइएका संरचना भत्काइएको मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तुलबहादुर रावलले बताउनुभयो ।

अतिक्रमणकारीले दिउँसो, राति तथा साँझको समयमा २०–२० हातको मोहडाले करिब दुई हजार ५०० घडेरीमा किला गाडी अतिक्रमण गरेका थिए । अतिक्रमित २०० रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रको र १०० रोपनी सोही आसपासको जग्गा रहेको छ ।

अतिक्रमणकारीले नगरपालिकामा तिरो तिरेर टहरा बनाउन अनुमति पाएको बताएका थिए । समयमै जानकारी नदिई टहरा भत्काउँदा उनीहरु आक्रोशित भएका थिए । जिल्लाका नेतृत्व तहमा रहेका केही जनप्रतिनिधि तथा नेताहरुको समेत जग्गा यसै क्षेत्रमा रहेको बुझिएको छ ।