काठमाडौं- स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने/नगर्ने विषयमा नेपाली कांग्रेसभित्र २ धार देखिएको छ ।
कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापनइतर पक्ष तालमेलको विपक्षमा छ ।
शुक्रवारबाट शुरू केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्नेबारे नेताहरूको फरक–फरक धारणा आएको छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् तर इतर पक्षका नेता डा. शेखर कोइराला तालमेलको पक्षमा खुलेका छैनन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरूबाट आवश्यकताअनुसार नेकपा एमालेसँग समेत चुनावी तालमेल गर्नुपर्ने राय आएको छ । कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित बनेकी मुक्तकुमारी यादवले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग पनि आवश्यक परे तालमेल गर्नुपर्ने राय राखेकी हुन् ।
यादवलाई स्थानीय तहको निर्वाचनका कांग्रेसले सिन्धुली खटाएको थियो । उनले सिन्धुलीमा कांग्रेसले जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।





प्रतिक्रिया