काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताउनु भएको छ ।
आज बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताउनु भयो ।
एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘नेपाली काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन । यो विल्कुलै आपत्तिजनक कुरा हो । आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । सत्तापक्षको फाइदाका लागि आयोग त्रुटि सच्याउन किन चाहँदैन ? उम्मेदवारको मनोनयन दिने २ दिने समय पनि गलत छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाउनु भयो । ‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उहाँले भन्नुभयो, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्यो । सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’
निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने तर विश्वास गर्ने कुनै आधार नभएको अध्यक्ष ओलीले बताउनु भयो । ‘हामी निष्पक्ष, निर्विवाद, तटस्थ निर्वाचन आयोग चाहन्छौं,’ ओलीले भन्नुभयो, ‘हामी निष्पक्ष निर्वाचन आयोग चाहान्छौं, जसमाथि सबै पार्टी र जनताले विश्वासा गर्न सकोस्।’







प्रतिक्रिया