अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको बिरासत बोक्ने सुखानी : को होला एमालेबाट भावी मेयर ?

एमालेको बिरासत बोक्ने सुखानी : को होला एमालेबाट भावी मेयर ?


झापा- अर्जुनधारा नगरपालिका एमालेको लागि यस्तो ऐतिहासिक स्थल हो, जहाँ २०२९ सालमा कम्यूनिष्ट आन्दोलनमा लागे वापत पाँचजना योद्धाहरुलाई गोली हानेर मारिएको थियो ।

एमालेको इतिहासमा सुखानी हत्याकाण्डका नामले चर्चित यो ठाउँ अजुर्नधारा नगरपालिकाको वडा नंमा ३ पर्दछ । त्यति मात्र होइन सुखानी सहिदहरुको सालिक निर्माण सहितको सुखानी स्मृति पार्क पनि यही नगरपालिकाको वडा नं ११ पर्दछ । त्यसैले एमालेको तर्फबाट अर्जुनधाराको मेयर पाउनु सुखानीको बिरासतलाई थाम्ने महत्वपूर्ण उतराधिकारीको जिम्मेवारी पनि पाउनु हो भन्ने बुझाइ आम एमालेजनमा छ ।

नेकपा एमालेले स्थानीय कमिटीहरुलाई उम्मेद्वार सिफारिस गर्न दिएको समय दुई हप्ता बाँकी रहँदा विभिन्न तहहरुमा उम्मेद्वारको चर्चाको सरगर्मी थप बढेको छ । निर्वाचनमा विभिन्न पदका आकांक्षीहरुले चुनावी टिकटका लागि आआफ्ना दलहरु भित्र लविङ गर्न थालिसकेका छन् । दलका कार्यकर्ताहरु पनि आफूले रुचाएको आकांक्षीको पक्षमा उभिन थालेका छन् ।

यस्तो एतिहासक लाल किल्लामा दलहरुले उम्मेद्वारको बारेमा निर्णय गरी नसक्दै एमालेका तर्फबाट भावी मेयर र उपमेयरको बारेमा चर्चा र अनुमान सुरु भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा ४ हजार २ सय भन्दा बढी मतले एमालेले जितेको यो नगरपालिकामा यस पटक एमाले भित्रै धेरैजना आकांक्षीहरु देखिएका छन् । अघिल्लो निर्वाचनमा देखिएको फराकिलो अन्तर, नेकपा समाजवादीको नगन्य उपस्थिति र नेकपा विभाजन पछि पनि साविक नेकपा माओवादी केन्द्रका अधिकांश नेता, कार्यकर्ताहरुको एमालेमै आवद्धताको कारण एमाले यसपटक पनि निर्वाचन जितिनेमा ढुक्क देखिन्छ ।

एमालेबाट वर्तमान नगरप्रमुख हरिकुमार रानाले पुनः सोही पदमा दोहोरिने आकांक्षा राख्नुभएको छ । यस अघि पनि दुई कार्यकाल तत्कालिन शनिश्चरे गाविसको अध्यक्ष भएका राना चौथो पटक स्थानीय तहको नेतृत्व लिने दाउमा हुनुहुनछ । तर एकै व्यक्तिले पटक पटक अवसर पाउनु हुँदैन भन्ने मत एमालेमा बलियो छ ।

यसैगरी एमालेका पूर्व जिल्ला कमिटी सदस्य कमल गुरागाईंले समेत अर्जुनधाराको मेयरमा दावी छ । मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख समेत रहिसकेका गुरागाईं इमान्दार र बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । नगरमा एमाले कार्यकर्ताहरु बीच लोकप्रिय गुरागाईंप्रति यहाँको बौद्धिक समुदायको सद्भाव रहेको छ ।

नगरपालिकालाई योजना र दृष्टिकोण सहित नेतृत्व प्रदान गर्नसक्ने भिजनरी व्यक्तित्व भएका कारण नगरको विकास र समृद्धिका लागि उनी उम्मेदवार बनेमा स्वतन्त्र मतदाताहरु समेत एमालेतिरै आकर्षित गर्न सकिने कार्यकर्ताहरुले हिसाब निकालेका छन् । मेयरमा गुरागाईंको उम्मेदवारीले अघिल्लो निर्वाचनमा गुमेका ३ वटा वडामा समेत जीत निकाल्न सहज हुने कार्यकर्ताहरुको आंकलन छ । एमालेको नगर कमिटीका अधिकांश सदस्यहरुको समर्थन गुरागाईंलाई रहने कमिटीका एक पदाधिकारीको भनाइ छ ।

यस पटक नगरपालिकाको नेतृत्व महिलाले गर्न पाउनुपर्ने मत समेत रहेको छ । राना र गुरागाईंको बीचमा विवादमा अल्झिनु भन्दा सर्वसम्मत रुपमा वर्तमान उपमेयर कमला खतिवडा आचार्यलाई पार्टीले मेयरको उम्मेद्वार प्रस्ताव गर्नुपर्ने महिला कार्यकर्ताहरुको माग रहेको छ । नगरका दोस्रो तहको नेतृत्वका रुपमा चिनिने पुरुष कार्यकर्ताहरु समेत आचार्यलाई मेयरको टिकट दिए आपूm उपमेयरमा सुरक्षित हुन सक्ने ठान्दछन् ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरका प्रत्यासी भूपेन्द्र न्यौपाने हाल एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । न्यौपानले समेत मेयरको लागि आकांक्षा राखेको बुझिएको छ । पूर्व माओवादी समूहबाट अर्जुनधारामा मात्रै चार जना प्रदेश कमिटी सदस्यहरु छन् ।

एमालेमा नगर प्रमुख र उपप्रमुखको उम्मेद्वार चयन प्रदेश कमिटीले गर्नेछ । सबै आकांक्षीहरु पार्टीको पैmसला अनुसारको उम्मेद्वारलाई जिताउन आफूहरु प्रतिबद्ध रहेको बताउँछन् । नगर कमिटी अध्यक्ष वलदेव गोम्देन पार्टीले पैmसला गरिसकेपछि कुनै पनि पदमा उम्मेदवार जो बने पनि पार्टीभित्र कुनै विवाद नहुने कुरामा जोड दिँदै आएका छन् ।

यता उपमेयरका लागि भने देवीमाया भट्टराई, कुसुम राई, चन्द्रकला राई, विष्णुमाया भट्टराई, कमला भण्डारी, रोजिना पाण्डे लगायतको नाम बढी चर्चामा छ । मेयर र उपमेयर चयन गर्दा सकेसम्म जातीय र क्षेत्रीय सन्तुलन मिलाउनुपर्ने भएकोले मेयरको उम्मेदवार को बन्ने भन्ने निर्णयले उपमेयरको उम्मेदवार सहजै टुङ्गो लाग्ने बताइन्छ ।