काठमाडौं – प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करीब १०० किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले चेपाङको घरमा रहेका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले फरार चेपाङको खोजी गरिरहेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट करीब १०० केजी गाँजासहित चार जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुर थिङ समेत चार जना छन् । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट करीब १६५ किलो ८०० ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले अरबिन्दलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया