रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिखेर वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गर्नु भएको छ ।
लुम्बिनीमा आयोजित पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई ‘कुनै जमानाको ठूलो गोरु भएको बलियो साँढे’ भन्दै वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नु भएको हो ।
कुनै जमानामा ठूलो गोरु भएको बलियो साँढे थियो नेपाली कांग्रेस अहिले बैशाखी खोजेर हिँड्नुपर्ने अध्यक्ष ओलीले बताउनु भयो । अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फाल्न आवश्यक नरहेको पनि बताउनु भयो ।
अध्यक्ष ओलीले एमालेको शक्ति कति छ भन्ने कुरा केही दिनअघि प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा आफैले प्रष्ट भन्नुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘ अब सबै दल मिलेर आए पनि एमालेलाई गलाउन र हराउन सक्दैनन्, एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि चाहिएको छ, त्यसैले एमाले चाहिएको छ, त्यो जनलहरले स्पष्ट पारेको छ ।’
अध्यक्ष ओली भन्नुहुन्छ, ‘जब चुनाव नजिक आउँछ, जनतामा अनुचित भ्रमहरू मच्चाउन खोजिन्छ, मधेसी पहाडी भनेर, हिन्दु र मुस्लिम भनेर झगडा लगाउने खेल सुरु हुन्छ। त्यसकारण यसबाट सचेत बनौँ, हामी नेपाली सबै समान हो सबै मिलेर देश बनाउने हो ।’
नेताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको बताउनु भयो ।
अध्यक्ष ओलीले एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराई मधेसमा हुलाकी राजमार्गको अन्यौलता हटाएको, तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको बताउनु भयो ।
एमाले नेतृत्वको सरकारले विकासमा गरेको जनलहरले अहिले सबैले साथ दिएको बताउँदै अध्यक्ष ओलीले नयाँ उत्साहका साथ एमाले अगाडि बढेको बताउनु भयो ।







प्रतिक्रिया