काठमाडौं- नेपालको कुल जनसङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । मुलुकमा महिलाको जनसङ्ख्या धेरै भए पनि निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा भने पुरुष मतदाताको सङ्ख्या धेरै देखिएको छ ।
यसलाई स्वाभाविक रूपमा लिइदिन आयोगले अनुरोध गरेको छ । सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘यो अब अध्ययन गर्ने काम तपाईंको हो । हामीले त देशभरबाट मतदाताहरूको नामावली संकलन गरेका हौँ । विज्ञ, मिडिया, सरोकारवाला र नागरिक समाजले अध्ययन गर्नुपर्छ जस्तो लाग्छ ।’
यद्यपि पछिल्लो समय आयोग लैङ्गिकमैत्री हुन खोजेको उनको भनाइ थियो । यस विषयमा भावी दिनमा आयोगको तर्फबाट अध्ययन हुन सक्ने उनले जनाउ दिए ।
निर्वाचन आयोगले १३ चैतमा सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार आगामी स्थानीय चुनावमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । त्यसमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ४१ हजार ५३० छन् । त्यस्तै अन्य १८३ जना छन् ।
जबकि पछिल्लो २०७८ को प्रारम्भिक जनगणनाअनुसार महिला एक करोड ४९ लाख एक हजार १६९ र पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ जना छन् ।







प्रतिक्रिया