काठमाडौं – नारी जागरण अभियान, गण्डकीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुराेध पत्र बुझाएको छ ।
राज्यका राजनीतिक, सामाजिक लगायतका विविध क्षेत्र, तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै नारी जागरण अभियानले अनुराेध पत्र बुझाएको हो ।
अभियानले राजनीतिक परिवर्तन निकै तीव्र गतिमा भए पनि मुलुकमा सामाजिक परिवर्तनको गति धीमा गतिमा रहेको जनाएको छ । ‘शासन, कानुन, समय बदलिए पनि नेपाली समाज अझै पितृसत्तात्मक सोचबाट चलिरहेको छ । राजनीतिसहित समाजका सबैजसो क्षेत्रको नेतृत्वमा महिलाको उपस्थिति निकै कम छ, नीनि निर्माण तह र कार्यकारी भूमिकामा त झन् नगण्य नै छ । यो परिदृश्यलाई परिवर्तन नगरी नेपाली समाज सभ्य, वैज्ञानिक र समृद्ध बन्नै सक्दैन । यो परिवर्तनको नेतृत्व गर्ने राजनीतिक दलहरु नै हुन्,’ ज्ञापन पत्रमा भनिएको छ, ‘सामाजिक संघ, संस्था, राज्यको ऐन, कानुन र सामान्य मानिसको सोचले पनि यसलाई प्रभावित त गर्छन् नै, निर्णायक र सबैभन्दा ठूलो नेतृत्वदायी शक्ति राजनीतिक नेतृत्व नै हो । यही नेतृत्वले राज्यको बागडोरसमेत संहाल्छ ।’
अभियानले आगामी चुनाव लक्षित गर्दैै ‘नेतृत्वमा महिला’ अभियान थालेको छ ।
अभियानले राजनीतिक दलहरुले वडा, टोल कमिटीदेखि केन्द्रीय तहसम्म महिलालाई समुचित स्थान नदिएको बताएको छ ।
‘संविधानले हरेक राजनीतिक तहमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चिता गरेता पनि हाल औंलामा गन्न सकिने सख्यामा मात्र महिलाहरु नेतृत्वमा रहेका छन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा, स्थानीय तहहरुमा महिलालाइ उपप्रमुखमा मात्र सीमित गरिएको छ,’ संयोजक अञ्जु केसीले बुझाउनुभएको ज्ञापन पत्रमा भनिएको छ ।







प्रतिक्रिया