भक्तपुर– नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा अर्को व्यवसाय सुरु गर्नु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा उहाँले सूर्य विनायक हरित तथा कृषि थोक बजार स्थापना गर्नुभएको छ । उक्त बजारको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोली उद्घाटन गर्दै हुनुहुन्छ ।
करिब १ हजार २ सय पसल भएको अत्याधुनिक यो बजार ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारवर्ष अघि देखि निर्माण सुरु गरिएको यो बजारको लागत करिब २ अर्ब रुपैयाँ रहेको प्रसाईंले जानकारी दिनुभयो ।

राजधानी उपत्याकामा भएका केही तरकारी बजारको एकाधिकार तोड्न,कृषि उपजमा बिचौलियाको बिगबिगीको अन्त्य गर्न र किसानका उत्पादनको उपयुक्त मूल्य दिनका लागि बजार स्थपना गरिएको प्रसाईंको भनाइ छ ।
आफू नेकपा एमालेको केन्द्रीय सदस्य भएकोले हरेक कार्यकर्तालाई उत्पादनसँग जोड्नु पर्ने अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई शिरोधार्य गर्ने प्रसाईंले बताउनुभयो । ‘राजनीतिमा होल टाइमर हुने तर उत्पादनमा नलाग्ने हो भने जनताले त्यस्तो नेतालाई पत्याउदैनन्,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘मार्क्सवाद रटाएर मात्र जनताले खान पाउदैनन् । त्यसका लागि नेता उत्पादनमा जोडिनु पर्छ । कार्यकर्ताले त्यसको सिको गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा अघि बढाएको ‘समृद्ध नेपाल,सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन आफूले कृषि क्रान्तिमा जोड दिएको प्रसाईंको भनाइ छ । यो आकांक्षालाई सफल पार्न आफूले ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नन्ती’ भन्ने मुल नारालाई अघि सारेको उहाँले बताउनुभयो । ‘हामीले शास्त्रीय कम्यूनिष्ट हैन, समयअनुकलको कम्यूनिष्ट विचारधारालाई अंगिकार गर्नुपर्दछ,’ प्रसाईंले बजार स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो ‘एमालेले लक्ष्य राखेको समाजको गन्तव्यमा पुग्न एमालेका सबै नेता कार्यकर्ताले रोजगार र उत्पादनसँग जोडिऔं । समाजवाद धेरै टाढा छैन ।’







प्रतिक्रिया