बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।
एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुइटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले उनको राजीनामा माग गरेको हो।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजीनामापछि उक्त मिलेमतोलाई पुष्टि गरिदिएको बताउनु भयो ।
‘भवनको टेण्डर खोल्दा नै त्यहाँ राखिएका प्रावधानले सेटिङ भइरहेको छ भन्ने देखिएको थियो, कार्यकारी प्रमुखले नै सरकारको दबाबमा राज्यलाई नोक्सान पुग्ने गरी टेण्डर खोलिएको भन्दै राजीनामा दिएपछि उहाँहरूको दुराशय स्पष्ट भएको छ,’ चौधरीले भन्न्नुभयो ।
उपनेता चौधरीले यसअघिका मुख्यमन्त्री शंकर पोखरेल सरकारको पालोमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालको रूपमा विकास गर्ने गरी काम अघि बढाइएको स्मरण गर्दै वर्तमान सरकारले त्यही अस्पतालको भवन निर्माणमा आर्थिक मिलेमतो गर्न खोज्नु दु:खद् भएको बताउनु भयो ।







प्रतिक्रिया