अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गर्छन् : विष्णु पौडेल

सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गर्छन् : विष्णु पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको मन-मनमा बसेकाले एमालेविरुद्ध जुनसुकै गठबन्धन बने पनि परास्त भएरै छाड्ने बताउनुभएको छ ।

जनतामा जाने एजेण्डा सकिएका र सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेसँग कुनै दल एक्लै भिड्ने तागत छैन, गठबन्धनको फेरो समाएका दलहरूले एक्लै चुनावमा जानसक्ने सामर्थ्य नै छैन ।’  

बुटवल उपमहानगरपालिका–९ मा बुधबार एमालेको स्थानीय निर्वाचन प्रचार–प्रसार तथा जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले आफ्नो सरकारको पालामा लिइएका विकास निर्माणका काम देखेर नै जनताले अगाध माया गरिरहेको नेता पौडेलले बताउनुभयो ।

नेता पौडेलले एमालेलाई हराउन जतिसुकै गठबन्धन गरे पनि त्यसको असर भने नपर्ने दाबी गर्नुभयो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आफू सरकारमा हुँदा ल्याइएका विकास निर्माण ठूला–ठूला योजनाहरुलाई हालको सरकारले चासो नदिएको आरोप लगाउनुभयो ।

एमालेले आफ्नो पालामा गरेका विकास र एमालेप्रतिको जनलहरबाट गठबन्धन दल अत्तालिएको उहाँको टिप्पणी थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा जतिसुकै दलहरूले गठबन्धन गरेर एमालेविरुद्ध लागे पनि फरक नपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएका कारण ढुक्क भएर प्रचार–प्रसारमा लाग्न नेता–कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । एमाले सरकारमा हुँदा गरेका राम्रा र विकास निर्माणका कामलाई जनतामाझ बुझाउन सके मात्रै पनि एमालेको जित ढुक्क भएका कारण सोही अनुसार अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।