अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाेटाङमा स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने सहमति

खाेटाङमा स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने सहमति


खोटाङ- स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो।

बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ।

खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ ।

नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ । गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ इन्चार्ज चाम्लिङले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ।’

गठबन्धन दलको बैठकले आगामी १९ चैतमा जिल्लाका ७९ वटै वडामा अन्तरक्रिया तथा चियापान गर्ने निर्णय गरेको छ।