सिन्धुपाल्चोक – आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेको छ ।
चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेको छ । यही क्रममा यसअघि उप-प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन् । संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर जानुका पराजुली र बाह्रबिसे नगरपालिकाका उपमेयर शुशीला पाख्रिनले अबको निर्वाचनमा मेयरनै दावी गर्ने घोषणा गरिसकेका छन् ।
चौतारा साँगाचोकगढीका उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताउनु भयो । ‘मैले मेयरमा दाबी गर्नु स्वाभाविक हो । आफ्नो क्षमता देखाएकी छु,’ उपमेयर पराजुलीले भन्नुभयो, ‘पाँच वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै संघर्ष गरेको छु, धेरै अनुभव बटुलेकी छु, संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीअनुसार निभाउनु पर्ने भूमिका निभाएकी छु, दिनरात नगरको सेवामा खटेर काम गरेकी छु । त्यसैले म मेयर हुन सक्षम छु र मेरो पनि मेयरमा दावी हुनेछ । ’
सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये कम्तिमा चार वटामा प्रमुख र एक सय तीन वडामा २५–३० प्रतिशतमा अध्यक्षको पदमा महिलालाई उम्मेदवार बनाईनु पर्ने उहाँको भनाइ छ ।
बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीन पनि मेयरमा उम्मेदवारी दिने बताउनु भयो । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको उहाँको भनाइ छ । ‘बाँकी काम प्रमुख भएर पूरा गर्नुछ,’ उहाँले भन्नुभयो । अबको निर्वाचनमा पनि महिलालाई उपमेयरमा मात्रै सीमित गर्नुनहुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘उपमेयरको पाँच वर्षे अनुभवनै आगामी चुनावमा मेयर दावी गर्ने आधार हो ।’
प्रतिक्रिया