खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी झन् बलियो र शक्तिशाली बनेको बताउनु भएको छ ।
नेकपा एमाले खोटाङले आज दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले झन् बलियो र शक्तिशाली बनेको बताउनुभयो । एमालेमा उर्लिएको जनलहर रोक्न विरोधीहरुले एमाले फुट्यो भनेर भ्रम फैलाएका समेत उहाँले बताउनु भयो ।
नेकपा एमालेबाट खराबहरु मात्र बाहिरिएका भन्दै उहाँले अन्य पार्टीबाट कैयौं असल मानिसहरु एमालेमा भित्रिएका बताउनुभयो ।
अध्यक्ष ओलीले देशभर एमालेको पक्षमा जनसागर उर्लिरहेको र हरेक दिन प्रवेशको लहर चलेको बताउनुभयो । एमालेको पक्षमा देखिएको जनमत प्रभावित पार्न फुटेको भ्रम फैलाइएको भन्दै उहाँले सो भ्रम चिर्ने गरी लाग्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘एमालेको फुटेको होइन, केही गलत तत्वहरु चोइटिएर गएका हुन्, एमाले बरु थपिएको हो, झन् बलियो भएको हो, हाम्रा विरुद्ध फैलाइएका भ्रमहरुलाई चिर्न आवश्यक छ ।’
एमालेलाई जनताको साथ रहेकाले आगामी चुनावमा बहुमतसाथ जित हासिल गर्ने पनि उहाँले बताउनुभयो। एमालेले सरकारमा छँदा कैयौं राम्रा काम गरेको भन्दै उहाँले जनतामाझ ती काम लगेर प्रचार गर्नुपर्ने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको प्रष्ट पार्नुभयो । विकास र समृद्धिको नेतृत्व पनि एमालेले मात्र गर्न सक्ने उहाँको भनाइ छ । विकास र समृद्धिसँगै देश, जनता र राष्ट्रियताको पक्षमा काम गरेकै कारण आफू नेतृत्वको सरकारलाई परमादेशबाट हटाइएको अध्यक्ष ओलीले बताउनुभयो। एमालेको सरकार थप लोकप्रिय हुने भयो भनेर विरोधीहरुले जालझेल गरेर आफू नेतृत्वको सरकार ढालेका बताउनु भयो ।
परमादेशबाट हटाइए पनि आफूहरु पुन: जनादेशबाट सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्ने उहाँको भनाइ छ । यसअघि २०५१-०५२ मा पनि एमाले सरकारलाई अदालतबाट हटाइएको तर पुन: जनअभिमतबाट सरकारमा पुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अब पनि एमालेलाई जनताले सरकारमा ल्याउनेछन्, हामीलाई जनताको आशिर्वाद् छ, एमालेको सरकारलाई काम गर्न दिइएन भन्ने जनताले बुझेका छन् ।’
बालबालिका, ज्येष्ठनागरिक, गरिब दु:खी, असाहयको संरक्षण गर्ने पार्टी पनि एमाले मात्रै रहेको उहाँले बतानुउनुभयो । अध्यक्ष ओलीले नेपालका बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता दिने, कर्मचारीको तलब बढाउने, नाकाबन्दी सधैंका लागि अन्त्य हुने वातावरण बनाउने, भारतले लुटेको नेपालको भूभाग समेटेर चुच्चे नक्सा जारी गर्ने, रेल कुदाउने, समृद्ध र आकाशमा नेपालको पहुँच पुर्याउने काम नेकपा एमालेले गरेको बताउनुभयो ।

















प्रतिक्रिया