बिर्तामोड – झापाका राजनीतिक दलहरुले कोरोना महामारीकालमा सहारा नेपालले पु¥याएको योगदान बारे खुलेर प्रशंसा गरेका छन् । २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दलका नेताहरुले शुभकामना दिनुहुँदै कोरोना महामारीको समस्याग्रस्त समयमा ‘सहारा सबैको सहारा’ बनेको बताउनु भएको छ ।
सहारा नेपालले केन्द्रीय कार्यालय चारपानेमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश १ का मन्त्री ओप्रकाश सरावगीले सहारा नेपालले कोभिडको समयमा राज्यकै दायित्व पूरा गरेको बताउनु भयो । उहाँले सहाराको सामाजिक योगदानबारे चर्चा गर्दै गरीबी निवारणमा महत्वपूर्ण योगदान पुराएको धारणा राख्नुभयो।
सहकारीहरुले कृषिमा लगानी बढाउदै बेरोजगारी समस्या हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने मन्त्री सरावगीले बताउनु भयो । सहकारीलाई काम गर्न कतिपय अवस्थामा कानूनी समस्या रहेको भन्दै उहाँले मन्त्रालयबाट कानुनी बाधाहरु फुकाउन आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले दु:खमा सबैले सहारालाई सम्झिन थालेको बताउनु भयो । सदस्यहरुको मन जितेकै कारण यो अवस्थामा आएको भन्दै अध्यक्ष कार्कीले संस्थालाई थप बलियो बनाउन आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने बताउनु भयो । कोरोनाभाइरस (कोभिड-१९) मा सहाराले साच्चै नै प्रशंसायोग्य काम गरेको छ, उहाँले भन्नुभयो ‘आगामी दिनमा थप सेवा प्रदान गर्दै संस्था प्रगतिको बाटोमा अघि बढोस् ।’
यस्तै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सहारा अत्यन्तै सामान्य अवस्थाबाट यहाँसम्म आएको भन्दै थप अझै प्रगति हासिल गर्न शुभकामना दिनुभयो । उहाँले सहाराभित्र दलहरुको हस्तक्षेप नभएका कारण नै संस्थाले उचाई लिएको बताउनु भयो । सभापति थेवेले भन्नुभयो, ‘नेपाली कांग्रेसको कोही कसैले सहारामाथि राजनीति गरेको मान्य हुनै छैन । यो संस्था सबैको साझा गौरव हो । यसलाई विशुद्ध सहकारी कै रुपमा सहयोग गर्न तयार छु ।’
यस्तै, राप्रपा झापाका अध्यक्ष केशव ओझाले पूर्व नेपालमा सहाराले राज्यको भन्दा ठूलो दायित्व पूरा गरिरहेको बताउनु भयो । उहाँले संस्था जिल्लामा दलहरुको पनि अभिभावकको रुपमा स्थापित भएको भन्दै सबैको रचनात्मक सहयोगको खाँचो भएको बताउनु भयो । स्वास्थ्य, शिक्षा, रोजगार र सदस्यको संरक्षणमा विशेष योगदान रहेको ओझाको भनाई थियो ।
संस्थाले सोही अवसरमा विधार्थीलाई शैक्षिक सामग्री, परिवार राहत अन्तर्गत स्वर्गीय माधव बराइलीको परिवारलाई नगद् पाँच लाख र रामचोक नौमती बाजा समूहलाई बाजा सामग्री प्रदान गरेको छ ।
संस्थाले २७ औं वार्षिकोत्वको अवसरमा एटिम सेवा समेत प्रारम्भ गरेको छ । सुनसरीको कालाबञ्जर र मोरङको केरावारीमा सेवा केन्द्र थप गरेको छ ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले औचित्यमाथि प्रकाश पार्दै संस्थाको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका छन् । उनका अनुसार संस्थाको सदस्य संख्या एक लाख ६० हजार पुगेको छ ।
संस्थाको शेयर पुँजी एकसय ६५ करोड कुल वासलात १५ अर्ब, ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको छ । संस्थाले ५२६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जना, विदेशबाट फर्किएका तथा वेरोजगार ३ हजार ३ ८७ जना युवालाई अटो ऋण, साना तथा मझौला उद्योग मार्फत एक हजार २०० जनामा उद्यम सिर्जना गरी ९ हजार ३० जनालाई विभिन्न व्यवसाय मार्फत स्वरोजगार बनाउन सफल भएको जनाइएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष हरि प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया