अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारूढ दल एमालेसँग एक्लै भिड्न डराए : महेश बस्नेत

सत्तारूढ दल एमालेसँग एक्लै भिड्न डराए : महेश बस्नेत


बैजनाथ – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग एक्लै भिड्न नसक्ने दावी गर्नुभएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाले एमालेसँग एक्लै-एक्लै भिड्ने हिम्मत नभएको बताउनु भयो । ‘गठबन्धनका दलहरुले एमालेसँग आगामी तीनवटै तहको निर्वाचनमा एक्लै एक्लै भिड्न नभई आँखा जुधाएर हेर्न समेत नसक्ने’ नेता बस्नेतले बताउनुभयो ।  

राष्ट्रिय युवा संघ नेपाल बैजनाथ पालिका कमिटीको प्रथम ऐतिहासिक अधिवेशनमा बोल्दै नेता बस्नेतले माओवादी, नेकपा एस, जसपा तथा जनमोर्चालगायतका दलहरु कांग्रेसको केन्द्रीय कार्यालयमा गई निर्वाचनमा जिताइदिनको लागि झोला थापिरहेको आरोप लगाउनुभयो ।

नेता बस्नेत भन्नुहुन्छ, ‘माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चा लगायतका पार्टीले कांग्रेसको केन्द्रीय कार्यालयको ढोकामा गई भीख मागिरहेका छन् । कांग्रेसीहरुले कान्छी औंला दिनुभएन भने चुनावमा बैतर्नी तर्न सक्दैनौं । कुन वेला कांग्रेसले पुच्छर देला र पुच्छर समाएर स्थानीय तहको निर्वाचन जितौंला भनेर प्रचण्ड, माधव, उपेन्द्र लगायतका नेताहरु पछि लागिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने, नेकपा एमाले यो धर्तिको सवैभन्दा ठूलो पार्टी, शसक्त पार्टी हो । एमालेले नेपाली कांग्रेसलाई एक्लै एक्लै लड्न चुले निम्तो दियौं तर हामीसँग लड्न डरायो । हामीलाई के लागेको थियो भने, बलियो नै होला भन्ने लागेको थियो । तर कांग्रेस लडेको रहेछ, घाइते रहेछ, कांग्रेसको खुट्टामा चोट लागेको रहेछ । त्यही भएर कांग्रेस एकातिर प्रचण्ड, एकातिर माधव नेपाल, एकतिर उपेन्द्र यादवको बैशाखी टेकेर नेकपा एमालेसँग लड्न खोज्दै छ । म कांग्रेसलाई चुनौति दिन चाहन्छु, वैशाखी टेकेर आएका कांग्रेस आगामी निर्वाचनमा हार्दैछ, लड्दैछ । पाँच दलीय गठबन्धन एमालेसँगै एक्लै भिड्न त कुरै नगरौं आखाँ जुधाएर हेर्न पनि नसक्ने भएका छन् ।’

नेता बस्नेतले भन्नुभयो, ‘अध्यक्ष केपी ओली भारत भ्रमण जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्टमा नै स्वागत गर्न आउनुभएको थियो । समान हैसियतको व्यवहार भएको थियो तर वर्तमानका प्रधानमन्त्री भारत जाँदा त्यहाँका राज्यमन्त्रीले स्वागत गर्नुभयो । यसबाट के बुझ्न सकिन्छ भने भारत तथा चाइना जस्ता मुलुकहरुले कांग्रेसलाई चाहेका छैनन् । भारत तथा चाइनाले समेत नेपालको विकास र समृद्धिको डिल गर्न एमाले नै खोजिरहेका छन् । किनभने उनीहरु राजनीतिक स्थिरता चाहन्छन्, आफ्नो देश विरुद्ध कुनै पनि अन्य मुलुकले नेपाललाई प्रयोग नगरोस् भन्ने चाहन्छन् । यो सवै कुराको नेतृत्व एमालेले मात्र गर्न सक्छ भन्ने विश्वास लिएका छन् ।’

राष्ट्रियताको सवालमा कांग्रेसले जहिले पनि गद्दार गरेको उल्लेख गर्दै उहाँले कांग्रेस जहिले पनि विदेशीको सामु लम्पसार परेको भन्दै आक्रोस पोख्नु भयो । गुमेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी एमाले अध्यक्ष केपी ओलीको पालामा नेपालको नक्सामा समेटी संविधान समेत सर्वसम्मत ढंगले संशोधन गरेको स्मरण गराउँदै नेता बस्नेतले पनि प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा नेपालको चुच्चे नक्सालाई बुच्चे बताएर आएको भन्दै आक्रोस जनाउनुभयो । कांग्रेसले थोरै पनि नैतिक छ भने उक्त बुच्चो नक्सालाई चुच्चो बनाउने हिम्मत गर्न चेतावनी दिँदै उहाँले कांग्रेसले नेपाली जनताको पक्षमा भारतसँग एक शब्द समेत बोल्न नसकेको बताउनुभयो । प्रधानमन्त्री देउवा भारत भ्रमणका क्रममा भारतमा नेपालको नयाँ चुच्चे नक्सा नभई पुरानो नक्साको प्रयोग गरिएको थियो । जसमा भारत स्थित नेपाली दुतावासमा समेत नेपालको पुरानो नक्सा प्रयोग गरिएको थियो ।

अध्यक्ष केपी ओलीको मिसन र भिजनका कारण नेपालमा रेल गुड्न थालेको उल्लेख गर्दै उहाँ नेपालमा रेल गुड्न थाल्नुमा कांग्रेको एक थोपा पनि लगानी नरहेको स्पष्ट पार्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवाले रेलको उद्घाटन गरेता पनि बधाई भने अध्यक्ष ओली तथा एमाले नै बधाई खाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

युवा र महिलालाई समाज र पार्टीमा उचित स्थान दिएमात्र समाज रुपान्तरण हुन सक्ने उल्लेख गर्दै उहाँले माओवादी जनताको मुक्तिको लागि गरिएको नारा अहिले हावामा उडिसकेको उल्लेख गर्दै सामाजिक न्यायको कुरा देखावटी र परिवारवादी भएको स्पष्ट भइसकेको बताउनुभयो ।

माओवादीले युद्धको नाममा समाजमा अपराधिक गतिविधिहरु गरेको जनतामा स्मरण गर्दै उहाँले सामाजिक फासिवादी माओवादीको सोचलाई अन्त्य गराई महिला, पिछडिएका जनताको हकअधिकार अखिल नेपाल महिला संघ तथा एमाले स्थापित गराएको स्पष्ट पार्नुभयो । गरिव, किसान लगायतको पार्टी हैनौं भन्ने सामान्तवादी सोच भएको कांग्रेसका नेताहरुले भाषण गर्दै हिडिरहेको उहाँले उल्लेख गर्नुभयो । एक मधेस एक प्रदेशको अतिवादी सोचले गर्दा मधेसका मानिस तराई र तराईका मानिस पहाड जाँदा द्धन्द्ध हुने अवस्था बने पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय राज्यको विरुद्धमा गर्नुभएको अडानले अहिले जातीय युद्ध हुनबाट बचाएको उल्लेख गर्दै उहाँले केपी ओलीकै अडानका कारण सामाजिक सद्भाव कायम दावी गर्नुभयो।