ललितपुर – स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट को-को उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ।
बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष हुनुहुन्छ । उहाँले फेरि अध्यक्ष बन्ने इच्छा देखाउनु भएको छ । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् ।
‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नो दबी छोड्दिन,’ तिमल्सिनाले भन्नुभयो, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’
एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आउनु भएको छ। उहाँ भन्नुहुन्छ, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’
एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’
माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उहाँहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्योलमै छ ।
पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतमले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उहाँका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’







प्रतिक्रिया