अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको २९ वडामा एमालेका उम्मेद्वार सर्वसम्मत

झापाको २९ वडामा एमालेका उम्मेद्वार सर्वसम्मत


झापा – नेकपा एमाले झापाले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १३१ वडामा उम्मेदवार छनोट प्रक्रिया सुरू गरेको छ।

आज नेकपा एमालेले २९ वटा वडामा सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। अधिकांश वडामा सर्वसम्मतका लागि छलफल जारी रहेको नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार बुद्धशान्तिको १, अर्जुनधाराका २, विर्तामोडका २, भद्रपुरका ४, मेचीनगरका २, कनकाईका २, झापाका गाउँपालिकाका २, कचनकवलको १, हल्दिबारीको १, बाह्रदशीका २, शिवसताक्षीका २, गौरीगञ्जका ३, गौरादहको १, कमलको १ र दमकको २ वटा वडाले वडाध्यक्ष र सदस्यहरूको उम्मेदवार चयन गरिएको हो।

सर्वसम्मत नभएका वडामा मतदानबाट उम्मेदवार सिफारिस गर्ने काम भइरहेको सचिव ढुङ्गेलले जानकारी दिनु भयो ।

चैत २७ पछिको पहिलो जिल्ला कमिटी बैठकले वडाअध्यक्ष र सदस्यहरूको टुङ्गो लगाउने भएपछि त्यसैअनुसार जिल्लाभर उम्मेदवार सिफारिसको काम भइरहेको उहाँले बताउनु भयो ।

चैत २५ को पालिका कमिटीले मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेद्वारी सिफारिसका लागि छलफल प्रारम्भ गर्नेछ।

यस्तै, २७ गते बस्ने पालिका कमिटीको बैठकले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यहरूको नाम जिल्ला कमिटीलाई अन्तिम टुङ्गो लगाउँदै सिफारिस गर्ने छ।

चैत २७ पछि तत्कालै बस्ने जिल्ला कमिटीको बैठकले वडाध्यक्ष र सदस्यहरूको छनौट गर्दै अन्तिम निर्णय गर्नेछ।

सोही बैठकले मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको नाम प्रदेश कमिटीलाई सिफारिस गर्ने पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्माले बताउनु भयो ।