अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस एक्लै अघि बढ्ने भएपछि मोरङमा अर्को गठबन्धनको तयारी

कांग्रेस एक्लै अघि बढ्ने भएपछि मोरङमा अर्को गठबन्धनको तयारी


विराटनगर – नेपाली कांग्रेसले मोरङमा स्थानीय चुनावमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गर्न थालेपछि सत्ता गठबन्धनका अन्य दलहरू जिल्लामा दोस्रो गठबन्धन बनाउने तयारीमा जुटेका छन् ।

कांग्रेसभित्र वाम दलसँग चुनावी तालमेल गर्न हुन्न भन्ने पक्षमा बलियो पैरवी गर्दै आउनु भएका नेता डा.शेखर कोइरालाको बलियो पकड रहेको मोरङमा गठबन्धनका अन्य दल ‘कांग्रेसले हेपेको’ भन्ने निष्कर्षमा पुगेका छन्।

जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले कांग्रेसबाहेकको गठबन्धन बनाएरअघि बढ्ने तयारीमा जुटेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले कांग्रेसले गठबन्धनको नीति र निर्णय नमान्दा अर्को गठबन्धन बनाउनु स्वाभाविक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘केन्द्रीय नीति अनुसार कांग्रेस र अरू दल अघि बढनुपर्छ । यदि केन्द्रकै निर्णयलाई चुनौती दिने हो भने हामीले कांग्रेस पर्खिरहनुपर्ने आवश्यकता छैन। हामी तीन दलीय गठबन्धन बनाउन तयार छौं।’

उता जनता समाजवादीका नेता एवं अघिल्लोपटक मेयरका उम्मेद्वार उमेश यादव त कांग्रेससँग विराटनगरमा गठबन्धन गर्नै नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अघिल्लोपटक १० हजारभन्दा बढी मत हाम्रो बदर भएर हामी पराजित भएका थियौं, त्यसबेला छोटो समय भएका कारण जनतालाई बुझाउन सकिएन । त्यसैले यसपटक बेलैमा तीन दलीय गठबन्धन बन्छ । मतदाता शिक्षामा जोड दिएर जाँदा हाम्रो गठबन्धन विजेता बन्ने निश्चित छ।’

मोरङमा कांग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ । यही क्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरिसकेका छन्। ‘विराटनगर महानगरमा कांग्रेसलाई तालमेलको आवश्यकता छैन,’ महानगर सभापति दिपक चापागाइँले भन्न्भयो, ‘त्यसैले प्रमुख, उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यहरुसम्मै तालमेल नगर्ने निर्णय भएको छ ।’

यसअघि मोरङकै सुनवर्षी नगर समितिले पनि यस्तै निर्णय गरिसकेको छ। कांग्रेसका जिल्ला नेताहरुका अनुसार स्थानीय संयन्त्रले गरेको निर्णयमा पार्टीको माथिल्लो समितिले हस्तक्षेप गर्ने छैन।

केन्द्रले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु भनेकै आधारमा हामीले यस्तो निर्णय लिएको महानगर सभापति चापागाइँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसैले यसमा केन्द्रले वा अर्को कुनै माथिल्लो समितिले हस्तक्षेप गर्ने कुरा हुँदैन।’

मोरङ कांग्रेसले जिल्लाभरी गठबन्धन के गर्ने भन्ने विषयमा आज निर्णय लिने जनाएको छ । जिल्ला सभापति डिगबहादुर लिम्बुका अनुसार शुक्रबार कांग्रेस जिल्ला समितिको बैठक बसेर त्यसबारे निर्णय लिँदैछ ।

मोरङमा ८ नगरपालिका, ८ गाउँपालिका र एउटा महानगरसहित जम्मा १७ स्थानीय तह छन्। विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका नौ वटा स्थानीय तह जितेको थियो।

जसमध्ये उर्लाबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैंचा नगरमा जितेको कांग्रेसले कटहरी, केराबारी, धनपालथान गाउँपालिका जितेको थियो। बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वमा रहेको तत्कालीन फोरम लोकतान्त्रिकले जितेको थियो। गच्छदारको दल कांग्रेसमा समाहित भएपछि अहिले मोरङमा १० स्थानीय तह कांग्रेसको नेतृत्वमा छन्।

मोरङमा एमालेले २०७४ मा पथरीशनिश्चरे र बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिका जितेको थियो।

रंगेली नगरमा माओवादीले जित हासिल गर्दा जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी हाल (जसपा) ले जितेको थियो।