काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल खोल्ने र डाक्टर तथा इन्जिनियर पढाउने कलेज खोल्ने भन्नासाथ सरकारलाई थर्काउने गिरोह बलशाली बनिरहेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले सबै पूर्वाधार, विद्यार्थी र शिक्षक तयार हुँदा पनि एउटा व्यक्तिले नखाई बस्दिन्छु भनेपछि सरकार डराएर त्यस्ता शिक्षण संस्थाहरूलाई अनुमति दिन नसक्ने अवस्था उत्पन्न भइरहेको बताउनुभयो।
एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थी पठाउने व्यापारिक गिरोहले क्याम्पियन चलाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? उसले सुत्दिम त ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।’
‘एक थरी जो विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन्,’ उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले नेपालमा मेडिकल कलेज खुल्दा विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्ने भएपछि केही व्यक्तिलाई उकासेर अनसनका नाममा सुताउने गरिएको सुनाउनुभयो ।
स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? उसले सुत्दिम त ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर ।
अध्यक्ष ओली भन्नुहुन्छ, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खोल्नु पर्ने हो । तर त्यसलाई रोक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समूह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’





प्रतिक्रिया