अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँचजनाको नाम सिफारिस, लालबाबु परेनन्

विराटनगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँचजनाको नाम सिफारिस, लालबाबु परेनन्


काठमाडौं- आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगर महानगरपालिकाको मेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ।

विराटनगरस्थित पार्टी कार्यालयमा शनिबार बसेको एमाले विराटनगर महानगर कमिटी बैठकले मेयरमा र उपमेयरमा तीनजनाको नाम मोरङ जिल्ला कमिटीमा सिफारिस गरेको हो।

एमालेले मेयरमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो।

सिफारिसमध्ये साह एमाले केन्द्रीय सदस्य हुन्। बस्नेत र भट्टराई प्रदेश कमिटी सदस्य, कार्की जिल्ला उपाध्यक्ष र थापा एमाले विराटनगर महानगरका अध्यक्ष हुन्।

एमालेले उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’ को नाम सिफारिस गरेको छ।

एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाका अनुसार दाहाल प्रदेश सदस्य, उपाध्याय जिल्ला सदस्य र कार्की महानगरकी उपाध्यक्ष हुन्।

यसअघि विराटनगर महानगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डित पनि आकांक्षी थिए।

तर उनको नाम महानगर कमिटीले सिफारिस गरेको छैन। अर्का नेता जीवन घिमिरेले आफ्नो नाम नपठाउन भनेको बताइएको छ।