अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवलाई बहाना बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली

विप्लवलाई बहाना बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्दको पार्टीलाई अघि सारेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनाव सार्ने षड्यन्त्र गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले चन्दलाई सहभागी गराउने नाममा कुनै पनि हालतमा चुनाव सार्नु नहुने चेतावनी दिनुभयो। विगतमा विभिन्न बहानामा चुनाव सारिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो अवस्था आए प्रतिवाद गर्ने बताउनु भयो । उहाँले देउवा, दाहाल र नेपालको षड्यन्त्रमा परेर चुनाव नै धकेल्ने खेलमा नलाग्न चन्दलाई आग्रह गर्नुभयो ।

ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चन्दलाई एमालेको सूर्य चिह्नबाट चुनावमा उठ्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘अहिले पनि चुनाव सार्ने कोसिस गरेका छन् । विगतमा पनि स्थानीय तह रिक्त गराउने शेरबहादुरजी नै हुनुहुन्थ्यो २०५९ कै जस्तो अवस्था फेरि नहोस् । उहाँले देशलाई प्रतिगमनमा पुर्‍याएको रेकर्ड छ । यतिखेर देउवा, प्रचण्ड र माधव नेपाल चुनाव रोक्न लाग्नु भएको छ ।’

चुनाव सर्ने अस्त्रको रुपमा चन्दलाई देखाउन खोजेको ओलीले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘यसका लागि विप्लवलाई देखाउन खोज्नुभएको छ, म विप्लवजीलाई भन्छु तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुहोस् । तपाईंलाई षड्यन्त्रकारी नेता होइन तर षड्यन्त्रको सिकार हुँदै हुनुहुन्छु।’

अध्यक्ष ओलीले अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन चन्दलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस् ।’