अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छबिस पाथिभेराका मतदाता भन्छन्-गठबन्धन नगरेकै बेस

छबिस पाथिभेराका मतदाता भन्छन्-गठबन्धन नगरेकै बेस


धबझाङ – बझाङ छबिस पाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँगसँगै पर्दा छबिस पाथिभेरा मेला र पर्वमय बनेको छ । एकैपटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।

काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए/गरेका दुःख-सुख बाँड्ने, आफन्तको हालखबर बुझ्ने र स्थानीय परिकार बाँडिचुडी खाने गरिन्छ । तर यस वर्ष भने परिस्थिति केही फेरिएको छ । एक महिनापछि हुन लागेको स्थानीय तह निर्वाचनको माहोल मेला पर्वमा देखिएको छ । दुई–चार जना जम्मा हुने बित्तिकै चुनावकै बारेमा कुरा हुन थाल्छ ।

चुनावको अधिकांश विषय तालमेलकै वरिपरि हुने गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दलले गठबन्धन गर्ने प्रक्रिया बढाएका बेला छबिस पाथिभेरा गाउँपालिकाका मतदाता भने गठबन्धनको विपक्षमा उभिएका छन् । गठबन्धन गरेर जाँदा पाँच वर्ष नपुग्दै राजनीतिक खिचातानी हुने उनीहरूको बुझाइ छ । गठबन्धन गर्दा राजनीतिक खिचातानी बढ्न सक्ने भन्दै दलहरूलाई एक्ला एक्लै निर्वाचनमा आउन आग्रह गरिरहेका छन् ।

दलहरूले छुट्टाछुट्टै रुपमा उम्मेदवार चयन गर्दै चुनावमा पठाए सक्षम र योग्य उम्मेदवारूलाई जिताउने मनसाय यहाँका मतदाताको देखिन्छ । तर गठबन्धनलाई कसैले राम्रो मानेका छैनन्, दलहरूले मतदाताको भावना बुझ्नु जरुरी छ ।

छबिस पाथीभेरा गाउँपालिका–३ का चेतराज जोशीले पनि गठबन्धन गरेर भोटका लागि नआउन उम्मेदवारलाई आग्रह गरेका छन् । ‘गाउँका सबै गठबन्धनको विपक्षमा देखिन्छन्,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका कार्यकर्ता पनि गठबन्धन भए भोट हाल्दैनौं भन्न थालेका छन्, त्यसैले सबै दलले आ–आफ्ना उम्मेदवार पठाउनु राम्रो हुन्छ ।’