अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली


म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युत्का पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि बिजुली नबलेको बताउनुभयो । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “लघु जलविद्युत्को बिजुलीको भरमा छौँ ।” तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । पाँच सय घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बासबोट, छिस, भट्टखोला, घोर्सीका तीन सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताउनुभयो । “सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्”, उहाँले भन्नुभयो, “पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन।”

डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीयवासी ओमकार रोकाले बताउनुभयो । तीनवटै बस्तीका बासिन्दा लघुजलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताउनुभयो । “विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन।”

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जीनियरिङले करिब रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीनवटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।

बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

रातोढुङ्गा सबस्टेशन आयोजनाका इञ्जीनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताउनुभयो । “ठेकेदारलाई धेरैपटक ताकेता गरेर काममा फर्काएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।”