बाँके – बाँकेमा जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारी कांग्रेसले नछोडेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो।
जसपाले गठबन्धन छाडेपछि कांग्रेस र माओवादी सम्मिलित गठबन्धनले एकल निर्णय गर्दै चारवटा पालिकामा उम्मेदवार पनि तय गरेको छ।
जसपा नेता मोहम्मद इस्तियाक रायनले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेपछि अब त्यसभित्रकै विचार मिल्ने दलसँग तालमेल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘बाँकेको हकमा हामीले गठबन्धन छाड्यौँ । यो देशभर पनि जान सक्छ। हाम्रो पार्टीलाई फाइदा हुँदैन भने गठबन्धन आवश्यक छैन।’
जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित चार पालिकामा उम्मेदवार पनि तय गरेको छ। जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा कमरूद्विन रायलाई उमेदवार बनाएको छ।
पाँच दलीय गठबन्धन छाडेपछि जसपाले डुडुवा गाउँपालिकामा भण्डारीलाल यादव, जानकी गाउँपालिकामा राजीव बर्मा र नरैनापुरमा इस्तियाक अहमद साहलाई उमेदवार बनाएको छ।
बाँकेबाट जनता समाजवादी गठबन्धनबाट बाहिरिएपछि अब सात बुँदे सहमतिअनुसार गठबन्धनकै दलसँग तालमेल हुने नेता रायनले बताउनु भयो ।
जसपाले मागेको नेपालगञ्जको मेयर कांग्रेसले नदिने बताएपछि देशभर गठबन्धन नरहने चेतावनी पनि रायनले दिनुभयो । उहाँले भन्नुभयो, ‘अब देशभर गठबन्धन टुट्ने जोखिम बढेको छ । हामी पाँच दलीय गठबन्धन छाडे पनि विचार मिल्ने एउटा दलसँग तालमेल गर्न सक्छौँ।’
जसपाले कांग्रेससँग वीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, कांग्रेसले यसअघि जितेको कलैया उपमहानगरपालिका मागेको थियो। त्यस्तै अर्को एउटा उपमहानगर दिन पनि जसपाले भनेको थियो।







प्रतिक्रिया