अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ


बुटवल – रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको हत्या भएको आरोप लगाएको छ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए ।  माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विष सेवन गरी आत्महत्या गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली खटिएको थियो । ‘किटनाशक विष सेवन गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले हत्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो ।

अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि कर्तव्य ज्यानमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिनुयभो । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उहाँको भनाई छ । कर्तव्य ज्यानमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताउनु भयो ।  

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने  र हातपात गर्ने गरेका थिए ।

बुधबार राती ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।