जनकपुर -स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।
निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय गर्न तथा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन नेताहरुलाई विभिन्न जिल्लाको विशेष जिम्मेवारी दिइएको पोलिव्यूरो सदस्य ज्वाला साहले जानकारी दिनुभयो । साहका अनुसार प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई एमालेलाई निर्वाचन जिताउन दायित्व सहित जिम्मेवारी तोकिएको हो ।
साहका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ । यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेल सप्तरीको जिम्मा दिइएको छ ।
यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युत मैनालीलाई बाराको जिम्मेवारी सुम्पिएको छ । प्रदेश अध्यक्ष रामवतार यादवलाई पर्साको जिम्मेवारी छ ।
यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । ।
५०१ सदस्यीय उक्त कमिटीमा प्रदेश सह इन्चार्जहरु, पोलिटब्युरो सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षहरु सदस्य रहनेछन् । कमिटीको सदस्य सचिवमा प्रदेश अध्यक्ष यादवलाई तोकिएको छ ।







प्रतिक्रिया