रुकुमपश्चिम – देशैभरीका स्थानीय तहहरुमा गठबन्धन तयारी गरिरहे पनि अर्थमन्त्री जनार्दन शर्माको जिल्लामा माओवादी गठबन्धन गर्न अनिच्छुक देखिएको छ । आफ्नो आधार भुमी भएकोले एक्लै चुनाव जितिने भन्दै शर्माको टिमले गठबन्धनमा अनिच्छा देखाएपछि अन्य दलले असन्तुष्टी जनाएका छन् ।
तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ को निर्वाचनमा माओवादीले नै जितेको थियो ।
रुकुम पश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली काँग्रेस हो । ०७४ मा माओवादीले ५८ वटा वडामा आफ्नो वर्चश्व कायम गर्दा काँग्रेस १३ र एमाले जम्मा दुईवटा वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी छ । ०७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, काँग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ–आफ्नो गृहकार्यमा लागिरहेका छन् । यहाँ सत्ता गठबन्धन दलहरुको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।
माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागवण्डा लगाउँदा माओवादीलाई घाटा हुने बताउनुहुन्छ ।







प्रतिक्रिया