काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका कारण गठबन्धनमा भागबण्डा मिल्न नसकेको बताउनु भएको छ ।
आज काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकमा ब्रिफिङका क्रममा प्रचण्डले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेबाट विभाजित भएर थोरै संख्यामा स्थानीय तहका जनप्रतिनिधि ल्याए पनि आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धेरै भाग खोजेको अध्यक्ष प्रचण्डले बैठकमा बताउनु भयो ।
अध्यक्ष प्रचण्डले माधव नेपाल अझै पनि एमालेमा रहे जस्तै आफूलाई ठूलो दलको नेता सम्झिने बानी नहटेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधवजीले अलिक बढी मागिहाल्नु हुन्छ। उहाँ आफूलाई अझै पनि एमाले नै देख्नुहुन्छु । नयाँ पार्टी एकीकृत समाजवादीको अध्यक्ष भएर भन्दा पनि उहाँले आफूलाई एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ।’
अध्यक्ष दाहालले विवाद भए पनि गठबन्धनका पाँचै दलसँग गम्भीरतापूर्वक कुरा गरेर गठबन्धन कायम गरेर जानुपर्ने मत राख्न भयो ।
पछिल्ला दिनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गठबन्धन छाड्ने चेतावनी दिइरहेको छ। कांग्रेसका पनि कयौँ कमिटीले गठबन्धन मान्न नसकिने अडान लिइरहेका छन्। जनता समाजवादीले बाँकेमा गठबन्धन छाडेर एकल उम्मेदवारी घोषणा गरिसकेको छ।







प्रतिक्रिया