अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसले टिकट पाउँछ ठूलो कुरा होइन, पार्टीले जित्नुपर्छ : अध्यक्ष ओली

कसले टिकट पाउँछ ठूलो कुरा होइन, पार्टीले जित्नुपर्छ : अध्यक्ष ओली


नुवाकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरूलाई आफूसँगै राख्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

एमाले नुवाकोट जिल्ला कमिटीले बट्टारमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसले टिकट पायो भन्ने भन्दा पनि पार्टीले जित्ने कुरा ठूलो भएकाले एमाले जिताउन केन्द्रित हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘चुनावमा एउटाले टिकट पाउँछ, अरू जिताउन लाग्ने हो । कसले टिकट पाउँछ ठूलो कुरा होइन, पार्टीले जित्नुपर्छ । अहिले असन्तुष्टि पोख्ने बेला होइन । वैशाख ३० गतेपछि जेठ चार-पाँच गते बसेर असन्तुष्टिका स्वरको समीक्षा गरौँला ।’

अध्यक्ष ओलीले अहिले सबै एमाले पङ्क्तिको काम मत बढाउने र मतको सुरक्षा गर्ने रहेको भन्दै चुनावमा मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘मत बढाएर मात्र हुन्न, त्यसको सुरक्षा पनि गर्नुपर्छ । बत्ती निभाएर बाकस साटेर, मतपत्र च्यातेर चपाउनेहरू छन् । तिनीहरूसँग होसियार हुनुहोस् । मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस् ।’

जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको जनसभालाई एमाले उपमहासचिव विष्णु रिमाल नेताहरू महेन्द्र पाण्डे, केशव पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुंगाना, उषाकिरण तिम्सेना लगायतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति यामबहादुर थापा लगायतको टोली एमाले प्रवेश गरेको थियो ।