सुर्खेत- आसन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन् । सहमति हुन नसक्दा ति दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरु आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो ।
केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा ( माओवादी केन्द्रले ) ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ ।
डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी , उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।
केही समय अघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो ।
कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजबादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको शाहीले बताउनुभयो । नेपाली कांग्रेसले कतै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ ।
प्रदेशमा आफूहरुले एक्ला एक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापति शाहीले जानकारी दिनुभयो ।
डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाट हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताउनुभयो ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताउनुभयो ।





प्रतिक्रिया