अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने


काठमाडौँ – अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् ।

बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।         

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ । 

 विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिनुभएको छ । मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो । “पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो”, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भन्नुभयो ।
     
कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय र आन्तरिक  सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ, नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनुछ, आज टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं ”
     
यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याउनुभएको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याउनुभएको थियो । यद्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।
     
कूल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
 
गौतमबुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन

प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो । “अब पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयर¥याक (एरोनटिकल इनर्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौँ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ । 

अब विदेशी जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।

आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने

रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टाँैसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् । उडान ढिलाइ भएकै कारण घण्टौँ यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ । रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ ।

देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन

प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ । 

महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके मर्मत गरेर चलाउन सम्भव छैन । पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौँ ।”